२८ असार, झापा । दमक बुहुमुखी क्याम्पसका प्रमुखलाई आज अनेरास्ववियुका विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसका केही प्राध्यापक र कर्मचारीले निजि शिक्षण संस्थासंग मिलेर नयाँ भर्नाकालागि आएका विद्यार्थीहरुलाई निजि शिक्षण संस्थामा जान सिफारीस गरेको भन्दै अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङ नेतृत्वको टोलीले क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
निजि शिक्षण संस्थासंग मिलेर क्याम्पसका केही प्राध्यापक र कर्मचारीले नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको व्यक्तिगत विवरण बाहिरका निजि कलेजमा पठाएको, वाहिरका कलेजमा राम्रो पढाईहुने भन्दै सिफारीस गर्ने गरेको पाईएको उनिहरुले बताएका छन् । क्याम्पसको तलव खाएर अफवाह फैलाउदै मिलेमतोमा विद्यार्थी बाहिर पठाउने प्राध्यापक र कर्मचारीलाई तुरुन्त कारवाही गर्न उनिहरुले माग गरेका छन् ।
छलफलमा बोल्दै क्याम्पसका विद्यार्थी समेत रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य नितेश राईले क्याम्पसका केही प्राध्यापक र कर्मचारीहरुबाटै भईरहेको यो गलत कार्य तत्काल रोक्न माग गरेका छन् । क्याम्पसकै तलवभत्ता खाएर क्याम्पसकै गरिमा घटाउने कार्य कुनै पनि हालतमा क्षम्य नभएको उनले बताए । निजि शिक्षण संस्थासंगको मिलेमतोमा संस्थामा कार्यरतले नै क्याम्पसमा पढ्न आएका विद्यार्थी चोर्नु अन्तयन्तै गम्भिर विषय भएको उनले बताए । यस्ता कार्य गर्ने प्राध्यापक र कर्मचारीलाई क्याम्पस प्रमुखले तत्काल कारवाही नगरे अनेरास्ववियु आफैले नै कारवाही गर्ने भन्दै स्ववियुलाई पनि यो कार्य तत्काल रोक्न पहल गर्न आग्रह गरे ।
क्याम्पस प्रमुख बुढाथोकीले पनि यो कुरा स्विकार गरेका छन् । क्याम्पसमा कार्यरत केही प्राध्यापक र कर्मचारीले आफन्तको लागानीमा रहेका शिक्षण संस्थामा विद्यार्थीको विवरणहरु पठाउने गरेको पाएको उनले बताए । विद्यार्थीहरुलाई अन्यन्त्रका कलेजमा राम्रो पढाईहुने भन्दै मिलेमतोमा विद्यार्थी बाहिर पठाउने गरेको जानकारी आफुले पाएको पनि उनले बताए । ‘यो समस्या अघिल्ला बर्षहरुमा पनि सुनिन्थे, हाम्रा क्याम्पसमा पढ्न आएका विद्यार्थीको नम्बर, ठेगाना, मार्कसिट निजि कलेजमा पुगेको हामिले पाएका छौँ । हामीले अहिले प्रशासनमा डाटा लिक हुने कुरोमा कडाई गरेका छौँ’–प्रमुख बुढाथोकीले भने–‘तर अहिले पनि हाम्रै क्याम्पसका केही व्यक्तिहरुले विद्यार्थीलाई अन्य निजि कलेजमा पठाउने गरेको सुन्नमा आएको छ । प्रमाण सहित हामिले भेट्यौ भने २४ घण्टा भित्र कारवाही गर्छौ ।’
स्ववियु सचिव दिपक लिम्बुले पनि यो कार्य रोक्न स्ववियुले आवश्यक पहल गर्ने बताए ।
‘क्युएए सर्टीफिकेट’ मान्यता प्राप्त दमकको दमक बहुमुखी क्याम्पस प्रदेश १ कै प्रतिष्ठित र धेरै विद्यार्थी संख्या भएको क्याम्पसको रुपमा रहेको छ । यस क्याम्पसमा ‘प्लस टु’ सहितको गरेर हाल ८ हजार विद्यार्थीहरुले अध्यन गरिरहेका छन् ।
नयाँ शैक्षिक शत्र सुरु भएसंगै दमक क्याम्पसमा पठनपाठनका लागि नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई क्याम्पसमै कार्यरतहरुले निजि शिक्षण संस्थासंगको मिलेमतोमा बाहिर पठाउने गरेको आरोप प्रत्येक बर्ष लाग्ने गरेको छ ।