सशस्त्र प्रहरीमा मौलाउँदै आत्महत्याको घटना, जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै

सशस्त्र प्रहरीमा मौलाउँदै आत्महत्याको घटना, जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै


५ असार, काठमाण्डौँ । असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । गण नम्बर–१६ स्थित काभ्रेको कार्यालय भवनको छतको पिल्लरमा डोरी लगाएर उनी झुन्डिएका हुन् ।

नकर्मी २०६३ मा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षसम्म उनी सहायक हवल्दार भन्दा माथि पुग्न सकेका थिएनन् । डिप्रेसनको औषधी खाने गरेका नकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको टिमले मनोपरामर्श पनि दिएको थियो । नकर्मी बेलाबेलामा भनिरहन्थे–‘राजीनामा दिन्छु ।’

सशस्त्र प्रहरीमा वृत्ति–विकास ढिलाइ हुने गरेको तथ्य छिपेको छैन । तर, नकर्मीले आत्महत्या गर्नुमा संगठनको आन्तरिक कारण नभएको बताउँछन्, सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्का । खड्काले भने–‘अहिलेसम्म यकिन कारण खुलेको छैन तर, उनी डिप्रेसनको औषधी खान्थे ।’

वैशाख ४ मा तुलसीपुरमा सेल्फ लोडिङ राइफल (एसएलआर)ले आफैँलाई गोली हानेर सशस्त्रका सहायक हवल्दार वसन्त केसीले आत्महत्या गरे । दाङको तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफ्नै घाँटीमा गोली हानेका हुन् ।

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर गएका थिए । फौजमा कार्यरतहरूले आफैँले बोकेको हतियार प्रहार गरेर आत्महत्या गरेको उदाहरण प्रशस्तै छ । किन फौजमा काम गर्नेहरूले बोक्ने राइफल आत्महत्याको कारण बन्छ ? हात–हतियारको पहुँच सहज हुने हुनाले फौजीले हतियार प्रयोग गरेर आत्महत्या गरेको हुनसक्ने बताउँछिन्, मनोविद् कृपा सिग्देल । सिग्देलले भनिन–‘आत्महत्याको सोचाई सबैलाई आउन सक्छ तर, फौजमा काम गर्नेहरूको हतियारमा पहुँच हुनाले त्यसलाई प्रयोग गरेको हुनसक्छ ।’

सशस्त्र प्रहरीमा एकपछि अर्काे आत्महत्याका घटना बढ्दै छ । मनोविद् कृपा सिग्देलका अनुसार जैविक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक कारण मान्छेले आत्महत्या गर्छन् । सिग्देल भन्छिन–‘सिकाई र सोच्ने तरिकाले पनि मान्छेले आत्महत्या गर्छ, आत्महत्या हुन धेरै कुराको मिश्रण हुनुपर्छ ।’

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा दुर्घटना र आत्महत्याका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् ।

उपदान लिएर जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै छ । आर्थिक वर्ष २०७९–०८० मा उपदान लिएर १३७ जनाले राजीनामा दिएका छन् । उपदान लिएर राजीनामा दिनेको सङ्ख्या पछिल्लो ३ वर्षमध्ये चालु आर्थिक वर्षमा सबैभन्दा धेरै छ ।

डिएसपीको नेतृत्वमा मनोपरामर्श युनिट
सशस्त्र प्रहरीले हलचोक स्थित प्रधान कार्यालयमा मनोपरामर्श युनिट स्थापना गरेको छ । डिएसपीको नेतृत्वमा साइकोलोजी (मनोविज्ञान) पढेका अधिकृतहरू सो युनिटमा कार्यरत छन् । मनोपरार्श युनिट मार्फत देशभर कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई काउन्सिलिङ गर्न थालिएको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए ।
आन्तरिक समस्याका कारण कुनै कर्मचारीले अनावश्यक हैरानी खेप्न नपरोस् भनेर संगठन भित्र समस्या परेमा ‘अन्यत्र जानु पर्दैन’ भनेर सशस्त्र प्रहरी प्रधान कार्यालयले सर्कुलर नै गरेको छ । सरुवा र बढुवाका लागी भनसुन गराउनु नपर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको दाबी छ ।

सशस्त्र प्रहरीको करिअर प्लानिङ वैज्ञानिक छैन । निकै लामो समयदेखि एउटै पदमा काम गर्नुपर्ने रोग बर्षाैँदेखि कायम छ । १३ वर्षदेखि सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरू माथिल्लो दर्जामा बढुवा भएका छैनन् । माथिल्लो तहमा दरबन्दी थोरै हुँदा तल्लो दर्जामा बढुवा नहुने समस्या स्वाभाविक हुन्छ ।

प्रमोसन ब्लक भएको र करिअर प्लानबारे छलफल भइरहेको एसएसपी खड्काले जानकारी दिए । ‘१५–१६ वर्षसम्म बढुवा नहुने अवस्था छ’ एसएसपी खड्का भन्छन्–‘सो अवस्थालाई अन्त्य गर्न अहिले दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।’

खड्काका अनुसार जवानमा भर्ना भएकाहरूलाई अवकाशमा जाँदा कम्तीमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा पुग्ने गरी करिअर प्लानिङ हुँदै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने ३ वटा प्रस्ताव अघि बढाएको छ । ४ हजार २ सय, १ हजार ४ सय र १ सय ७५जनाको दरबन्दी थप्न प्रस्ताव गरिएको एसएसपी खड्काले जानकारी दिए । यो समाचार रातोपाटीमा प्रकाशित छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर