१ माघ, काठमाण्डौँ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।
‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उहाँले भन्नुभयोे ।
घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उहाँले बताउनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उहाँले जानकारी दिनुभयो ।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०ः५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।