२७ कार्तिक, काठमाण्डौँ । राजनीतिक दलहरु चुनाव प्रचाररप्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात ‘थ्रेसहोल्ड’को चिन्तामा छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ११ मा भनिएको छ, ‘ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।’
अर्थात समानुपातिक पद्धतिबाट प्रतिनिधिसभामा सांसद निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशतको थ्रेस होल्ड कटाउनुपर्छ । प्रदेशसभामा थ्रेस होल्डको सीमा १.५ प्रतिशत छ ।
राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर मात्र हुँदैन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु अनिवार्य छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।’
राष्ट्रिय दलको मान्यता नपाए त्यस्ता दलबाट निर्वाचित सांसदको हैसियत स्वतन्त्रसरह हुनेछ । अर्थात, समानुपातिकमा तीन प्रतिशत मत र्पुयाएर पनि प्रत्यक्षतर्फ एक सिट जित्न नसक्ने दल वा प्रत्यक्षतर्फ केही सिट जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउँदैनन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र तत्कालिन राष्ट्रिय जनता पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए ।