अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदैँ

अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदैँ


१० श्रावण, काठमाण्डौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ । बिहान ८ बजे तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पाेट आइपुगेको छ । बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने ।

सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाइसकेको छ ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पाेट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर