१४ श्रावण, काठमाण्डौँ । १५ जेठ २०७९ मा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित विमानमा रहेका २२ जनाकै मृत्यु भयो । दुर्घटनापछि सरकारले कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ ।
आयोगले विमान दुर्घटनाको कारण सार्वजनिक गर्ने नै छ । तर, अहिलेसम्मका प्रारम्भिक सूचना र स्थानीय बासिन्दाको भनाइ अनुसार, खराब मौसमका कारण उक्त विमान दुर्घटनामा परेको थियो ।
सो दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमलाई कारण देखाएर ‘इनरुट’को मौसम सफा भएको पुष्टि नभएसम्म उडान नगर्न निर्देशन दियो । तर, नेपालमा मौसम सम्बन्धी जानकारी दिने एक मात्र निकाय जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिलेको अवस्थामा ‘इनरुट’ को मौसम सम्बन्धी जानकारी उपलब्ध गराउन नसक्ने बतायो ।
हवाईजहाज उडानका लागि निश्चित रुट तोकिएको हुन्छ । उडान भएको विमानस्थलदेखि गन्तव्य विमानस्थलसम्मको हवाईजहाज उड्ने बाटोलाई ‘इनरुट’ भनिन्छ । अहिले मौसम पूर्वानुमान महाशाखाले आन्तरिक उडानका लागि गन्तव्य विमानस्थलको मात्र मौसमी विवरण उपलब्ध गराउँछ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल आन्तरिक हवाई कम्पनीहरूलाई इनरुटको मौसम सम्बन्धी जानकारी उपलब्ध गराउन प्राविधिक रूपमा कठिनाई भएको बताउँछन् । ‘हामीसँग इनरुटको मौसमी अवस्था दिने प्रविधि छैन’ पौडेल भन्छन्, ‘दिन नसकिने भन्ने होइन । यदि प्रविधि जडान भयो भने उपलब्ध गराउँछौं ।’
जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट एवं हावापानी विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार नेपालमा डब्लूआरएफ (वेदर रिसर्च एण्ड फोर्काष्ट) मोडेल तथा स्याटलाइटबाट पर्याप्त विवरणका आधारमा मौसमको पूर्वानुमान गरिन्छ । तर, डाँडाकाँडा, खोंच तथा पहाडी र हिमाली क्षेत्रको मौसमी अवस्था स्याटलाइट र मोडेलहरूले क्याप्चर गर्न सक्दैनन् । जसका कारण मौसम सम्बन्धी विवरणहरू मिल्दैनन् ।
‘स्याटलाइट र अन्य विकसित देशका मोडेलहरू हाम्रो देशमा मिल्दैनन् । हामीले सही मौसमी सूचना उपलब्ध गराउने हो भने उच्च पहाड र हिमाली क्षेत्रमा धेरैभन्दा धेरै स्वचालित मौसमी स्टेशन नराखी सुखै छैन’ कँडेल भन्छिन्, ‘त्यसबाट प्राप्त डेटाले हामी हाम्रो पूर्वानुमानलाई पनि भरपर्दाे बनाउन सक्छौं । त्यसले ‘रियल टाइम’ को सूचना उपलब्ध गराउँछ र मौसमका कारण हुने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।’
नेपालमा भएका हवाई दुर्घटनामध्ये धेरैको मुख्य कारण मौसम नै हुने गरेको छ । ४ फागुन २०७० मा नेपाल वायुसेवा निगमको एबीबी ट्वीनअटर विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । घटना पछि सरकारले गठन गरेको छानबिन आयोगका भनाइमा सो विमान दुर्घटनाको प्रमुख कारण खराब मौसम थियो ।
काठमाडौंबाट जुम्लाका लागि उडेको जहाज मौसममा खराबी देखिएपछि पोखरा अवतरण गरेको थियो । जुम्लाको मौसममा सुधार आएको सूचनापछि पोखराबाट उडेको उक्त विमान अर्घाखाँचीमा पुग्दा मौसममा आएको परिवर्तन पछि दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र देउजा जहाज उड्ने बेलामा भिजिविलिटी सही भए पनि डाँडापाखामा मौसम बदली हुँदा दुर्घटनाको जोखिम बढ्ने बताउँछन् ।
६ दशकयता भएका हवाई दुर्घटना पहाडी र हिमाली भेगमा मनसुन तथा हिउँदमा पानी परेको समयमा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थाई एयरवेजको विमान २०६८ सालमा रसुवाको घ्याङ्फेदीमा दुर्घटनामा पर्याे । घटनाको अनुसन्धान गर्न गठित आयोगको प्रतिवेदन अनुसार ११३ जनाको मृत्यु भएको उक्त दुर्घटनाको एउटा कारणमा मौसम पनि थियो ।
त्यसैगरी सन् २००६ मा कञ्चनजंघामा भएको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा २४ जनाको मृत्यु भयो । सो दुर्घटनामा नेपालको संरक्षण क्षेत्रका हस्ती डा.हर्क गुरुङसहितका विज्ञहरू परेका थिए । सन् १९९१ को मनसुनको समयमा दुई महिनाको फरकमा काठमाडौंमा भएका दुई ठूला हवाई दुर्घटनाको प्रमुख कारण पनि मौसमलाई मानिन्छ । उक्त दुर्घटनामा २८० जनाले ज्यान गुमाएका थिए ।