१० असार, इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा योजना छनोटको विषयमा विवाद हुँदा जनप्रतिनिधीहरु बिच नै विवाद भएको छ । योजना छनोटको विषयमा कुरा नमिल्दा चुलाचुली ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नरेन्द्र सावा लगायत उनी निकटका ब्यक्तिहरुले तोरीवारी स्थित वडा कार्यलय तोडफोडको प्रयाससंगै कार्यलयका कागजातहरु नष्ट पारेको त्यहाँका कर्मचारीले बताएका छन् । नेपाली कांग्रेसकै एक नेताले पनि सो घटना भएको स्विकार गरेका छन् ।
घटना केही दिन अगाडीको भएपनि भर्खरैमात्र बाहिर आएको हो । यस वडामा नेपाली कांग्रेसकै तर्फबाट वडा अध्यक्षमा दिलकुमार राई सहित दुई वडा सदस्य निर्वाचित छन् । त्यसमा एक सावा पनि हुन् । बाकी दुई सदस्यमा एमालेकी मिना राई र काजिमान राई निर्वाचित छन् । मिना राई जिसस सदस्य भई सकेकी छिन् ।
स्रोतका अनुसार वडाध्यक्ष राई र सावाको विवाद पहिले देखीकै हो । यसअघि उनिहरुको वडाध्यक्षको टिकटको बिषयमा पनि विवाद भएको थियो । त्यतीबेला सावाको समुहले पार्टीको माईन्युट नै च्यातिदिएको एक कांग्रेस नेताले बताए । अहिले आएर सोही पार्टीको आन्तरीक विवादको सिकार वडा कार्यलय बनेको छ । योजना छनोटको नाममा भएको विवादमा वडा सदस्य सावाले वडाध्यक्ष राई ज्यान मार्नेसम्मको धम्कि दिएको नाम नबताउने सर्तमा वडा एक कर्मचारीले बताए । केही दिन अघिको यस घटनाबाट कर्मचारी र वडावासी त्रसित भएको उनले सुनाए । वडा सदस्य सावा चुलाचुली गाउँपालिका अध्यक्ष तथा चुलाचुली कांग्रेस सभापति राजेन्द्र केरुङ निकट मानिन्छन् ।
यसै विषयमा चुलाचुली ६ का सेवाग्राहीहरुले वडा सदस्यको कारवाहीको माग गरेका छन् । वडाकार्यलयको महत्वपुर्ण कागजात नष्ट गर्ने, जथाभावी बोल्ने, कर्मचारी धम्क्याउने वडा सदस्यलाई कारवाही गरीपाउँ भन्दै उनिहरुले चुलाचुली गाउँपालिका र वडा कार्यलयलाई बोदार्थ राखी निवेदन दिएका छन् ।