८ जेष्ठ, बुटवल । रुपन्देहीको बुटवलमा नेपाली कांग्रेसले तीन दशक पछि ‘कमब्याक’ गरेको छ । यसअघि २०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो । त्यतिबेला १५ वटा वडा रहेको बुटवलमा एमालेले भने जम्मा तीन वडा मात्रै जितेको थियो ।
२०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता उल्ट्याइदियो। एमालेले नगर प्रमुखमा भोजप्रसाद श्रेष्ठ, उपप्रमुखमा विमलबहादुर शाक्य र १२ वटा वडा जितेको थियो ।
नगरपालिकामा त्यसयता २०७४ सालमा मात्रै निर्वाचन भए पनि २०५६ सालको संघीय निर्वाचनबाहेक २०६४ र २०७० सालका संविधानसभा र २०७४ सालका संघ र प्रदेश सभा निर्वाचनमा एमालेले एकछत्र विजयको किल्ला गाडेको थियो। २०५६ सालको संसदीय निर्वाचनमा भने कांग्रेसका सुर्यप्रसाद प्रधान निर्वाचित भएका थिए ।
२५ वर्षपछि अहिले नेपाली कांग्रेसले एमालेको गढ भनिएको बुटवलमा आफ्नो विजयको झण्डा गाड्न सफल भएको छ ।
सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले बुटवलको मेयर जितेका छन् ।
अन्तिम मतपरिणामअनुसार पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने एमले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत पाएका छन् ।