गठबन्धन टुट्दैमा आकाश खस्दैनः झलनाथ खनाल

गठबन्धन टुट्दैमा आकाश खस्दैनः झलनाथ खनाल


२१ माघ, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् । यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा छन् । तिनलाई नसच्चाईकन संसद्बाट अनुमोदन गर्नुहुँदैन । त्यसैले एमसीसीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा चिन्तित हुनुपर्ने कारण छैन । उहाँसँग त्यसलाई कुन ऐन अन्तरगत संसद्मा लैजाने भन्ने गेट पास नै छैन ।”

मुलुकलाई विभाजित गरेर एससीसी अनुमोदन गर्न नहुने उहाँको जिकिर छ । एमसीसी पास गर्छु भनेर कसैले धमास दिन नहुने उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन महले दिएको पनि बताउनुभयो । एमसीसी अहिलेको मतभेद नभएकाले त्यसले गठबन्धनमा असर नगर्ने नेता खनालको जिकिर छ ।

गठबन्धन टुट्दैमा आकाश नखस्ने पनि उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “कसैले एमसीसीलाई अमेरिकाको साम्राज्यवादी हतियार भएकाले रिजेक्ट गर्नुपर्ने तर्क गरेका छन्, कसैले यसलाई कमा, फुलस्टप पनि नबिगारीकन लिनुपर्छ भनेका छन् । तर हामी यसभित्र आपत्तिजनक कुरालाई हटाएर अमेरिका सहयोग लिनुपर्छ भन्ने पक्षमा छौं । तर नेपालको स्थायित्वको विरोधी तत्वको अनेक अफवाह र चलखेल गरिरहेका छन् । प्रधानमन्त्रीले यसो भन्नुभयो, उसो भन्नुभयो, धम्की दिनुभयो भनेर लेखिरहेका छन् । म त के भन्छु भने गठबन्धन तोडिँदै मा कुनै आकाश खस्ने कुरा छैन । हाम्रा निम्ति देश, जनता सार्वभौसत्ता नै ठूलो हो ।”

तत्काल संसद्बाट एमसीसी अनुमोदन गर्न अध्ययन नपुग्ने उहाँको भनाइ छ । अर्काे प्रसंगमा उहाँले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग लगाउन खोज्नु असफल कसरत हुने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर