१९ मंसिर, झापा । दमकमा भोली (सोमबार) पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउनुहुने भएको छ । नेकपा (एस) सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने खेलको नमुना प्रदर्शन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेता नेपाल आउने कार्यक्रम तय भएको हो ।
आयोजक खेलकुद महासंघ समाजवादीले आज दमकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पुरा भएको बताएको छ । नेता नेपालले खेलाडी तथा पार्टीका समर्थक, शुभेच्छुक कार्यकर्ताहरुको बृहत भेलालाई सम्बोधन गर्ने तय भएको पनि पत्रकार सम्मेलनमा जनाईएको छ । यस्तै भोलीको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि आउने आयोजकले बताएको छ ।
प्रदेश १ अन्तर्गतका १४ जिल्लाबाट विभिन्न बिधाका खेलाडीहरुसहित महासंघ समाजवादीका कार्यकर्ताहरु समेत एक हजार बढी सहभागी हुने सो कार्यक्रमलाई पार्टीका प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, प्रदेश सरकारका मुख्यमन्त्री राई , नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस)का प्रदेश सदस्य केन्द्र बहादुर प्रसाइँले जानकारी दिनुभयो । उहाँले झापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्रै प्रभाव भएको जिल्लाका रुपमा गलत व्याख्या भइरहेकोले झापामा एकीकृत समाजवादीको अवस्था र सक्रियताको अनुभूति हुने किसिमको कार्यक्रम तय गरिएको पनि बताउनुभयो ।
खेलकुद महासंघ प्रदेश समिति अध्यक्ष शंकर थापाले खेलकुद महासंघ र खेल बिकासका क्षेत्रमा यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
महासंघका प्रदेश इञ्चार्ज हंसारज वाग्लेले खुल्ला सत्रमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नेपालसहितका नेताहरुको सम्बोधनपछि हुने बन्द सत्र प्रशिक्षणमुलक रहने जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले भोली नै विर्तामोडस्थित पार्टी कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।