एमाले महाधिवेशनः चार मुलुकका राजनीतिक दल सहभागि, २५ मुलुकका दलले शुभकामना सन्देश पठाए

एमाले महाधिवेशनः चार मुलुकका राजनीतिक दल सहभागि, २५ मुलुकका दलले शुभकामना सन्देश पठाए


९ मंसिर, काठमाण्डौँ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । यस्तै २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो ।

चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री हर्षबद्र्धन र राष्ट्रिय सचिव हरिश द्धिवेदीले सहभागिता जनाउनुहुने भएको छ ।

भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा माक्र्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा माक्र्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आउनुहुने भएको छ ।

कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।

२५ मुलुकबाट शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । ब्राजिल र भियतनामबाट शुभकामना सन्देश आउने क्रममा रहेको उहाँले जनाउनुभयो । राजदूतहरुलाई पनि निम्तो गरिएको र कतिपयले महाधिवेशनमा आउने जानकारी दिएको भट्टराईले बताउनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल अल रसियन पोल्टिक पार्टी युनाइटेड रसियासहितका पार्टीले सन्देश पठाइसकेका छन् । ग्रीस, म्यानमार, टर्की, आयरल्यान्ड, फ्रान्स, चीन, जर्मनी लगायत मुलुकका राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।

कोरोना महामारीको कारण देखाउँदै जर्मनी र फ्रान्सका दलहरुले भौतिकरुपमा आउन नसक्ने बताउँदै शुभकामना सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले शुभकामना सन्देश पठाएको छ । विगतमा सीपीसीका प्रतिनिधिले भौतिकरुपमै सहभागिता जनाएका थिए ।

कम्युनिस्ट मुलुक क्यूवाले कोरोनाकै कारण आउन नसकेको जानकारी दिएको उहाँले बताउनुभयो । उत्तर कोरियालाई पनि निम्तो गरिएको र शुभकामना सन्देश पठाउने जानकारी पठाएको जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर