
३ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरुको राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिनुभएको छ । संघीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिनुभएको हो ।
बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको बताईएको छ । पैसा रकमान्तर गरेरै भए पनि राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गरिने जनाइएको छ ।
परिषद्को बैठकले हराइरहेकाको खोजी गरी उद्धार, राहत तथा पुनःस्थापना कार्यक्रमलाई तीव्रता दिने निर्णय पनि गरेको परिषद्का सदस्यसचिव तथा विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
राजमार्ग, विद्युत, टेलिफोन सेवा सञ्चालन गर्न तत्कालै कार्य अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि छुट्टै कोषको व्यवस्थापन गरी पुनःस्थापन र पुनःनिर्माण अघि बढाइने छ ।
उद्धारका लागि सेनाको हेलिकोप्टर मात्रै पर्याप्त नभएकाले निजी क्षेत्रबाट समेत हेलिकोप्टर प्रयोग गर्ने निर्णय पनि भएको बैठकपछि पत्रकारसँगको कुराकानीमा सदस्यसचिव पोखरेलले जानकारी दिनुभयो । विस्थापितहरुलाई अहिले पनि सार्वजनिक स्थान, स्कुलमा व्यवस्थापन गरिएको छ । त्यहाँ खाने सामलको अभाव रहेकाले आपूर्ति मन्त्रालयमार्फत व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७