२७ असोज, मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् । २४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।
मृतकमध्ये चालकको पहिचान खुलेको उहाँले बताउनुभयो । मृतक चालक दाबहादुर रावलको रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मृतकहरु मध्ये अधिकाशं रारा नगरपालिकाकै रहेका छन् ।
बसमा सवार ४५ जनामा मध्ये १३ जना घाइते रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनाको नर्सिङहोम नेपालगंजमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगञ्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दु्र्घटना भएको थियो । सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा ३२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।