
१८ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पदबाट राजिनामा दिनुभएको छ । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिनुभएको हो ।
गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले जानकारी दिनुभयो । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बननुभएको थियो । उहाँ नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियानमा सक्रिय हुनुहुन्थ्यो ।
एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गर्नुभएको थियो । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उहाँले माधव नेपालसँग जवाफ माग्नुभएको छ ।
गौतमले एमालेबाट राजिनामा दिएर पनि अब के गर्ने भन्ने बताउनुभएको छैन ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७