१८ भाद्र, काठमाण्डौँ । सैनिक ब्यारेकबाटै मेसिन गन चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक आज रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका हुन् । दुई सैनिक विगत २८ महिनादेखि थुनामा थिए ।
सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो ।
सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ ।
ढकाललाई सैनिक अदालतले सोही हतियार प्रयोग गरी आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा कसुरदारसमेत ठहर गरेको छ ।