६ भाद्र, सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरि साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरि खाने खेती जोगाउन कृषकहरू बाध्य बनेका छन् । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो ।
भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादुर मगरले बताउनुभयो । ‘भालु खेद्न रातभर बारीमा नै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, वर्ष दिनको खेती त्यही हो राम्रोसँग सुत्न नपाएको पनि कति दिन भइसक्यो’ उहाँले भन्नुभयो ।
जिल्लाका तामाखानी, बेनी, टाक्सिन्दुलगायतका आधा दर्जनभन्दा बढी गाविसका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बनेको छ । वर्षेनी भालुको आक्रमणबाट कृषकहरू सख्त घाइते तथा केहीको मृत्यु भएका घटनाले समेत उनीहरू त्रसित बनेका हुन् ।