५ भाद्र, इलाम । इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका नेकपा (एमाले)का नेताहरूले माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा नजाने संकेत गरेका छन् । उनीहरुले केन्द्रीय तहमा दोस्रो तहका नेताले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने भन्दै एमालेमै बस्ने निर्णय गरेका हुन् । उनीहरूले १० बुँदे सहमति पालनामा जोड दिने बताएका छन ।
सूर्याेदय नगरपालिकामा आज भएको भेलाले नेकपा समाजवादीमा समाहित हुनेभन्दा पनि एमालेमै रहन प्रयास गर्नेगरी अघि बढ्ने निर्णय गरेको बताईएको छ । एमालेको माधव झलनाथ समुह इलामका अध्यक्ष भक्त केसीले पार्टीलाई एकढिक्का राखेरै अघि बढ्ने भेलाले निर्णय गरेको जानकारी दिनुभयो ।
झलनाथ खनालको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रका झलनाथ पक्षधर जनप्रतिनिधीहरुले सकेसम्म एमालेमै रहने बारे आज छलफल गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरुबीच एमाले भित्र नै रहेर कसरी अन्तरसंघर्ष गरेर जाने भन्ने बिषयमा कुरा भएको थियो । बैठकमा जनप्रतिनिधीहरुले एमलेमै बसेर अन्तरसंघर्ष गर्ने तर एमाले नछाड्ने बताएका थिए ।
भेलामा १ नम्बर प्रदेश सांसद खिनु लङवा लिम्बू, सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र पूर्वसांसद मणिकुमार लिम्बूलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।