३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दुई नेता भीम आचार्य र सुरेन्द्र पाण्डे भारतको नयाँ दिल्ली पुगेका छन् । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका हुन् ।
एमाले सचिवसमेत रहनुभएका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् । नेताद्धय आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् ।
पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट रहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् ।
एमाले विवादमा नेता माधव नेपालले अपमान सहेर एकता नगर्ने बताइरहेका बेला आचार्य र पाण्डे भने जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । एमालेका कतिपयले नेता कार्यकर्ताले पाण्डे र आचार्यका पछिल्ला अभिव्यक्तिलाई लिएर माधव समुहद्धारा आलोचना भईरहेको छ ।