३० श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । पूर्व कप्तान खड्काले १९ श्रावणमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गर्नुभएको थियो । त्यसअनुसार नै आज भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिनुभयो ।
बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोर्होर्याउनुभएको थियो, ‘क्रिकेट किन छाड्नुभयो ?
खड्काले यो व्यक्तिगत निर्णय भएको बताउनुभएको थियो । आफूले राष्ट्रिय टिमबाट देशका लागि गर्नसक्ने जत्ति गरिसकेकाले सन्यास लिने निर्णयमा पुगेको उहाँले बताउनुभएको बालुवाटार स्रोतको भनाई छ ।
प्रधानमन्त्री देउवाको अर्काे प्रश्न थियो, ‘अब के गर्नु हुन्छ ? पारसले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएपनि क्रिकेटबाट टाढा नहुने बताउनुभएको थियो । ‘क्रिकेट व्यवस्थापनमा रुची छ, तर एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन’ पूर्व कप्तान खड्काले आज भन्नुभयो, ‘हामी सबै मिलेर अझ राम्रो बनाउन जरुरी छ ।’
प्रधानमन्त्री देउवाले पनि त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
पूर्व कप्तान पारससँग भएको भेटवार्ताको तस्वीर ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटले पाएको सफलताका लागि पारसलाई धन्यवाद दिनुभएको छ ।