३० श्रावण, झापा । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने दमक चिसापानी पञ्चमी (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । ठाउँ–ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन ।
निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । दमकदेखि रविसम्मको ४४ किलोमिटर सडकमध्ये पहिलो चरणको ६ दशमलब २ किलोमिटर सडक कालोपत्रे गर्न काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले २० करोड रूपैयाँमा ठेक्का लिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४/७५ मा लागेको ठेक्का २०७७ पुस मसान्तमा सक्नुपर्ने हो । तर, अहिलेसम्म आधा काम पनि सकिएको छैन । सडकखण्ड अन्तर्गत रतुवा खोला क्षेत्रको १० किलोमिटर सडकमा गाडी नचल्ने अवस्थामा पुगेको छ । गाडी चल्न नसकेपछि पहाडबाट तराई झर्नेहरू लामो दूरी पैदल हिँडेर गन्तव्य पुग्न बाध्य छन् । सडकमा जबरजस्ती सवारीसाधन कुदाउने प्रयास गरिँदा दुर्घटनाहरू समेत भइरहेको स्थानीयले बताएका छन् ।
केही साताअघि इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य धनबहादुर राईको सोही सडकमा मोटरसाइकल दुर्घटना परी मृत्यु भएको थियो । ३६ वर्षीय राईको सडक अप्ठ्यारो भएकै कारण मोटरसाइकल रतुवा पुल नजिकै सेते भीरमा अन्दाजी १०० मिटर तल खस्दा मृत्यु भएको सोही वडाको छिमेकी चुलाचुली गाउँपालिका–५ का धनकुमार राईले बताउनुभयो ।
‘यो सडक ६ महिनाअघि नै सक्नुपर्ने हो,’ उहाँले भननुभयो, ‘समयमा सडक नबन्दा यहाँका स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आयो । सडकका कारण अहिले यहाँ सबै जनता निराश छन्।’
तोकिएको समयावधि सकिएर पहिलो पटक ६ महिना म्याद थप्दा हालसम्म ४५ प्रतिशत मात्र सडकको काम सकिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी साउदेनले बताउनुभयो । निर्माण कम्पनीले हालसम्म करिब ४०० मिटर कालोपत्रे गरेर छाडेको छ । केही महिनादेखि निर्माण ठप्प छ । पहिलो पटक थपिएको म्यादको समय भदौ ९ गतेसम्म छ । निर्माण कम्पनीले पुनः एक वर्ष म्याद थप्न डिभिजन कार्यालयमा निवेदन दिएको साउदेनले बताउनुभयो ।
काम सक्नु भनेर निर्माण कम्पनीलाई पटकपटक लिखित र मौखिक निर्देशन दिए पनि कामलाई तीव्रता नदिएको उहाँले बताउनुभयो । उहाँले भननुभयो‚ ‘डिभिजन कार्यालयले निर्माण कम्पनीलाई कारबाही गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण देखाउँदै माथिल्लो निकायले म्याद थप गरिदिँदा समस्या उत्पन्न भइरहेको छ ।’
यसबाहेक अन्य दुई चरणको सडक कालोपत्रे सडकको पनि ठेक्का लागिसकेको छ । आर्थिक वर्ष २०७६/७७ मा दोस्रो खण्डको सडकको ठेक्का लुम्बिनी–गणपति जेभीले लिएको छ । १५ दशमलब २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालयले जनाएको छ । २०७६ फाल्गुन २ गते ठेक्का सम्झौता भएको सडक खण्डको कालोपत्रे गर्ने कार्य ३६ महिनामा सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, हालसम्म सडकको काम ३० प्रतिशत मात्र सम्पन्न भएको सूचना अधिकारी साउदेनले बताउनुभयो ।
तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडकको ठेक्का ५९ करोड १५ लाख ३५ हजारमा सम्झौता भएको छ । उक्त खण्ड पनि तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । उक्त सडकको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।
दोस्रो र तेस्रो चरणको ठेक्का एउटै निर्माण कम्पनीले लिएको बताउँदै साउदेनले भन्नुभयो, ‘दुवै ठेक्का म्याद झन्डै २० महिना छ, सो अवधिमा निर्माण सक्नुपर्छ, त्यही अनुसार काम भइरहेको छ ।’ दोस्रो र तेस्रो चरणको सडकमा हालसम्म स्टक्चर, पक्की नाला, वाल बनाउने काम गरिँदैछ । अब छिट्टै ग्राभेलको काम सुरु हुने उहाँले बताउनुभयो । २०४९ सालतिर अकर–चतुरे–दमक मोटर बाटो नामकरण गरेर स्थानीय श्रमदानमार्फत सडक निर्माणमा स्थानीय जुटेका थिए ।
त्यसपछि बजेट अभावले सो सडक बिचमै अलपत्र र्पयो । २०७४ सालमा सरकारले बजेट विनियोजन गर्दै सडक बनाउने योजना अघि सारेपछि स्थानीयवासी हर्षित भएका थिए । तर, ठेक्का लागिसकेको सडकको निर्माण कार्यले तीव्रता नपाउँदा अहिले स्थानीय फेरि निराश बनेका छन् ।
उक्त सडक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ ।