मधेसमा महन्थ र उपेन्द्र आमनेसामने

मधेसमा महन्थ र उपेन्द्र आमनेसामने


२२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् ।

दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् । उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेको बेला महन्थ ठाकुर पक्षले जसपाको जिल्ला विस्तारित बैठक भन्दै कार्यक्रम सुरु गरेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिइसकेको छ । जसपाको आधिकारिकता नपाएका महन्थ ठाकुर पक्षले पनि आफूहरु अझै जसपामै रहेको भन्दै तराई मधेसमा कार्यक्रम सुरु गरेका छन् । महन्थ ठाकुर पक्षको कार्यक्रम भाद्र ९ गतेसम्म चल्ने बताइएको छ ।

महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु जसपामै रहेको र पार्टीमा देखिएको आन्तरिक समस्याका बारेमा कार्यकर्तालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पार्टीमा के कारणले विवाद भयो, पार्टी किन फुटको अवस्थामा पुग्यो, यी सबै कुराको यथार्थ जानकारी कार्यकर्तालाई गराउन कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ ।

महन्थ पक्षले आज सप्तरीमा कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितीको सभा हलमा आयोजित कार्यक्रममा केन्द्रबाट जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झा प्रमु्ख वक्ताको रुपमा रहनुभएको थियो ।

उपेन्द्र यादव पक्षका जसपा जिल्ला अध्यक्ष केदार यादवले भने जसपाको नामबाट राजेन्द्र महतोले गरिरहनु भएको कार्यक्रम आधिकारिक नभएको र कार्यक्रम नै फर्जी भएको बताउनुभयो । यसको बारेमा केन्द्रले आवश्यक निर्णय लिने पनि उहाँले बताउनुभयो ।

सिरहामा हुने विस्तारित बैठक कार्यक्रमका लागि जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राईलाई प्रमुख वक्ताको रुपमा पठाइएको छ ।

जसपाका नेता राकेश रोशन गुप्ताले भने सिरहामा जसपाको नामबाट भइरहेको फर्जी कार्यक्रमको बारेमा हामीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको छ । महन्थ ठाकुर पक्षले जवर्जस्ती कार्यक्रम गरिरहेको र त्यसमा पार्टीका को को सहभागी हुँदैछन् त्यो हेरेर एकदुई दिनमै त्यसको बारेमा केही निर्णय लिने उहाँले बताउनुभयो ।

महोत्तरीमा सुरु भएको विस्तारित बैठकका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी समितिका सदस्यहरु शरतसिंह भण्डारी, निर्जला राउतलाई प्रमुख वक्ताको रुपमा पठाइएको छ । तर उपेन्द्र यादव पक्षले जिल्लामा हुने भनिएको कुनै पनि विस्तारित बैठक पार्टीका तर्फबाट नभएको प्रस्ट पारेको छ ।

बारामा चलिरहेको विस्तारित बैठकमा महन्थ ठाकुर पक्षका जसपा कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, केन्द्रीय सदस्य बाबुलाल साह, रमेश पटेल प्रमुख वक्ताका रुपमा छन् । उपेन्द्र यादव पक्षका जसपा केन्द्रीय सदस्य प्रमोद गुप्ताले आधिकारिकता नै नरहेको पार्टीबाट गर्ने कार्यक्रमको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभयो ।रातोपाटी

प्रतिक्रिया:

सम्बन्धित खवर