२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको बताईएको छ । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।
केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।