२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी महन्थका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुई पार्टीबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको हो ।
ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो । ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको थियो ।
जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।