२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ ।
छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहनुभएको थियो ।
यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी हुनुहुन्छ । हिजो संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो ।
यसले एमालेमा एकताको प्रयासमा अवरोध खडा गरेको माधव नेपाल पक्षको नेताहरुको भनाइ थियो । असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ ।