विपक्षी गठबन्धनको बैठक सकियो, एमाले माधव समुह गठबन्धनमा अब नरहने

विपक्षी गठबन्धनको बैठक सकियो, एमाले माधव समुह गठबन्धनमा अब नरहने


२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्यो । बैठकमा सर्वाेच्चको निर्णयपछिको समिक्षा गर्दै भावी कदमबारे छलफल भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताउनुभयो ।

कोटेश्वर बैठकमा ओलीविरोधी गठबन्धनले खुशियाली मनाएको बुझिएको छ । नेताहरु निकै दंग रहेर छलफलमा भाग लिएको बुझिएको छ । बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी हुनुहुन्थ्यो ।

नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य रघुजी पन्त, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ र जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरु महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै सोही बैठकबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने बताउनुभएको छ । सर्वाेच्चको परमादेश लगत्तै विपक्षी गठबन्धनको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभयो । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै पार्टी एकताका लागि एक खालको सहमति भएको र अब त्यसलाई ओली पक्षले कुन ढंगले लागू गर्न गर्छ भन्ने रहेको बताउनुभयो ।

नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भन्दै उहाँले पार्टी एकता र संसद पुनस्र्थापनापछि गठबन्धन असान्दर्भिक रहेकाले अब विपक्षी गठबन्धनमा नरहने बताउनुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर