२६ असार, काठमाण्डौँ । शुक्रबार अपरान्ह बत्तीसपुतलीमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।
उक्त भेलामा सहभागी बलबहादुर केसी बाहेकका सबैजना नेताको सभापतिमा दाबी छ । बैठकको संयोजन गरेका नेता केसीले संस्थापन इतरबाट एकजना मात्रै सभापतिको उम्मेदवार उठाउने प्रस्ताव अगाडि सार्नुभएको थियो । त्यसमा सकारात्मक छलफल सुरु भएको केसीको भनाइ छ ।
शुक्रबारको छलफलले एकताको सम्भावना बढाएको केसीको दाबी छ । उहाँले सके पार्टीभित्रै नसके आन्तरीक समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको बताउनुभयो । छलफल निरन्तर चल्ने उहाँले बताउनुभयो ।
यस्तै नेतृ सुजाता कोइरालाले पनि सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । हार्दिकताका साथ छलफल भएको र जो भए पनि एकजना उम्मेदवार हुने उहाँले बताउनुभयो ।
यस्तै नेता शेखर कोइरालाले पनि एउटै उम्मेदवारीका विषयमा बैठक सकरात्मक रहेको बताउनुभयो । एउटै उम्मेदवार दिनेमा दुविधा नरहेको शेखरको भनाइ छ । यद्यपि कसैले कसलाई छोड्ने कुरा भने नगरेको उहाँले बताउनुभयो ।
यस्तै नेता सिंहले पनि साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको तर एउटालाई अरूले छोड्ने कुरा भने नभएको बताउनुभयो ।
संस्थापन इत्तर पक्ष आगामी महाधिवेशनमा मिलेर जानुपर्ने केसीको जोड छ । हिजोको छलफलको सुरुमै केसीले देउवाइत्तर गठबन्धन बनाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । तर, आकांक्षी सबैले आ–आफ्नो राम्रो माहोल रहेको दलिल पेस गर्दै सभापति उठ्ने अडान राखेका थिए । तर, छलफल सहभागी सभापतिका ८ जना आकांक्षीले कसैले कसैलाई स्वीकार नगरेको अवस्था छ ।
नेता कृष्णप्रसाद सिटौलाले आफू छलफलमा सहभागी भए पनि फरक रुपमा कसरत गरिरहेको बताउनुहुन्छ । सिटौलाले देउवा इत्तर गठबन्धनमा सामेल नहुने संकेत देखाउनुभएको छ ।
उम्मेदवार छनोटमा ८ नेताको आआफ्नै दलिलः
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई दिएको योगदान, त्याग र अनुभवलाई साझा उम्मेदवार छनोटको मोडल बनाउनुपर्ने बताउनुभयो । छलफलमा उहाँले भन्नुभयो, ‘मेरो यत्रो योगदान छ । त्याग छ , तपस्या छ, बलिदान छ । म सबैभन्दा सिनियर हुँ । मैले धेरै काम गरेको छु । म अनुभवी छु । मलाई सहयोग गर्नुपर्छ ।’
सबै नेताहरुले उम्मेदवार छनोटका लागि आफू अनुकुलका मोडल अगाडि सारेका थिए । सुजाता कोइरालाले आफू सभापतिको दाबेदार भए पनि साझा उम्मेदवार छनोटका लागि बाधक नहुने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘मिलेर जानुपर्छ । मलाई पनि मान्नुपर्छ । सहमतिका लागि सबैको स्वीकार्य पात्र म हुँ । अब महिलाले पनि अवसर पाउनुपर्छ ।’
साझा उम्मेदवार लोकप्रियता र क्षमताको आधारमा तय गरिने उहाँको भनाइ थियो । ‘अहिले को उम्मेदवार बन्ने तय भएको छैन । उचित समयमा छलफल गरी निर्णय लिन्छौं,’ उहाँले भननुभयो ।
छलफलमा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महतले पार्टी अनुभव र सिनियारिटीलाई उम्मेदवार छनोटको आधार बनाउनुपर्ने बताउनुभएको थियो । त्यसरी साझा उम्मेदवार छनोट हुन नसके आफूहरु पनि सभापतिमा उठ्ने उहाँहरुको अडान थियो ।
डा. शेखर कोइरालाले बैठकमा भन्नुभयो–‘कसको राम्रो अवस्था छ भनेर जाँच्ने तरिका के छ र यहाँ ? यतिबेला कसलाई सोधेर जाँच्ने कसको राम्रो भनेर ? जिल्ला अधिवेशनबाट जितेर आएका सभापतिलाई सोध्ने हो कि ?’
शेखरले आफूलाई तलका कार्यकर्ताले समर्थन गर्ने आसयका साथ एक उम्मेदवार छनोटको मोडल अगाडि सार्नुभएको थियो । कार्यकर्तामा आफ्नो उपस्थिति राम्रो रहेको शेखरको बुझाइ छ ।
प्रकाशमान सिंहले राजनीतिक निरन्तरतालाई उम्मेदवार छनोटको आधार बनाउनुपर्ने प्रस्ताव अगाडि सार्नुभयो । त्यसका लागि आफू योग्य गरेको सिंहको दाबी थियो । उहाँले भन्नुभयो, ‘संगठनमा निरन्तर काम गरेको र जनस्तरीय काम गर्दै आएको म हुँ । मैले सबैलाई नेतृत्व गर्न सक्छु भन्ने मलाई लाग्छ । मैले मेरो प्रस्ताव अस्ति (असार ११ गते) पनि राखेको हुँ । अहिले पनि मेरो त्यही कुरा छ ।’
महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इत्तरबाट वर्तमान सभापति शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभयो । त्यसका लागि आफू जति बलियो उम्मेदवार कोही नभएको उहाँको दाबी थियो । ‘यहाँ शेरबहादुर देउवालाई हराउन सक्ने मबाहेक को छ र ?’, शशांकको प्रश्न थियो ।
त्यस्तै, सिटौलाले १३ औं महाधिवेशनको रामचन्द्र पौडेल समूहमा कसैले कसैलाई स्वीकार गर्ने अवस्था नभएकाले आफूलाई सहयोग गर्न प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो, ‘रामचन्द्रजीको १३ औं महाधिवेशन टीमका सबै साथीहरु सभापति उठ्ने तयारीमा हुनुहुन्छ । आफ्नो आफ्नो तयारी गरेर उठ्न खोजेको पाउँछु म । एकले अर्कालाई स्वीकार्ने परिस्थिति मैले देखेको छैन । मलाई सहयोग गर्नुस्,’ सिटौलाको प्रस्ताव थियो ।
अहिले आफू छुट्टै तयारीमा रहेको भन्दै तलबाट हुने प्रतिस्पर्धा अनुसार सोच्न सकिने उहाँले बताउनुभयो । ‘मेरो आफ्नो छुट्टै हो । मैले आफ्नो तयारी गरिरहेको छु । आफ्नो सम्पर्क कार्यालय खोलेको छु । तपाईहरुले पनि आ आफ्नो सम्पर्क कार्यालय खोलेर बस्नु भएको छ,’ सिटौलाले भन्नुभयो, ‘आफ्नो तयारी गर्दै आउँला । तलबाट कस्तो प्रतिस्पर्धा हुँदै आउँछ । त्यसपछि सोचौला नि !’
बैठकमा सहभागी एक नेताले भने शुक्रबारको छलफल उपसभापति विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको फोटो खिचाइजस्तै रहेको बताए । छलफलमा सबैले आ–आफ्नो दाबी गरे पनि केसीले बाहिर बोल्दा सहमति गरेर जाने ढंगले बोलिदिन आग्रह गरेका थिए ।
तर, संस्थापन इत्तर पक्षमा साझा उम्मेदवार हुने सहमति भएको छ भन्नु बेकार कुरा भएको ती नेताको भनाइ छ । सबै आ–आफ्नो ढंगले अगाडि बढिरहेकाले कोही रोकिने अवस्था नरहेको उनको दाबी छ ।