२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलका सदस्यहरु आपसी छलफलमा जुटेका छन् । एमालेको विवाद मिलाउन गठित कार्यदल सहस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका हुन् ।
माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय तिर लागेका छन् ।
पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । आज पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ ।
आपसी छलफल गरेर अहिले साँझ ७ बजे पुनः बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय बनेका छन् ।
यही क्रममा हिजो राति मेरियट होटलमा केपी ओली र माधवकुमार नेपालवीच वार्ता भएको थियो । वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।