२४ असार, काठमाण्डौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।
कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले आज साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताउनुभयो ।
उहाँले हिजो साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताउनुभयो । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।
मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गर्नुभएको थियो । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिनुभएको बताईएको छ । उहाँले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।