२१ असार, काठमाण्डौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ ।
एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसक्नुभएको छ ।
बैठकपछि पनि उपमहासचिव बिष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिनुभएको थियो ।
नेपालले आफू सकारात्मक रहे पनि वक्तव्यको मस्यौदा कार्यदलले तयार पारोस् भन्नुभएको थियो । त्यसका लागि ओलीसँग भेटेर छलफल गर्न गर्न आफूहरुले गरेको आग्रह नेपालले अश्वीकार गरेको पौडेलले बताउनुभएको छ ।
विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर समेत गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाई सम्भवतः आज सकिदैछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोज्नुभएको छ ।
त्यसका लागि केन्द्रीय कमिटी बैठकमार्फत उहाँले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाउनुभएको थियो । तर नेपाल पक्षले भने सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ ।
हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको भनाइ छ । तर अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताईसक्नुभएको छ । यसबीचमा वार्तामा सहभागी माधव पक्षका नेताहरुले माधव नेपाललाई प्रभावित पार्न सक्ने नेता भीम रावलसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । ओलीले रावललाई हिजो साँझ बोलाएर बालुवाटारमा करीव डेढ घण्टा कुरा गर्नुभयो ।
ओलीलाई भेट्नुअघि रावल माधव नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो । ओली र रावलबीच के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर सर्वाेच्च अदालतको फैसला जे आउँछ त्यस आधारमा एमाले एकता हुनसक्ने भन्दै रावलले हस्ताक्षर फिर्ता नहुने जानकारी दिएको बताइएको छ ।
ओलीले सर्वाेच्च अदालतको फैसला आएको भोलिपल्ट विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताउनुभएको छ ।
तर माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले सर्वाेच्चको फैसलाअघि एमालेका २३ जनामध्ये कुनै पनि सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ ।