१९ असार, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताउनुभयो । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेष्ठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको तामाङको भनाइ छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको तामाङले बताउनुभयो ।
उहाँले भननुभयो, ‘माधव कमरेडसहितका साथीहरुलाई पनि बोलाएका छौं । आउने नआउने उहाँहरुको कुरा हो । उहाँहरु एमालेमै हुनुहुन्छ ।’ आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताउनुभयो ।