१६ असार, काठमाण्डौँ । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् ।
भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिनुभयो । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने समस्या हुने गरेको उहाँले बताउनुभयो ।
कालो ढुसी भएका एक बिरामीले मात्र अहिलेसम्म ज्यान गुमाएका छन् । दुईजनाको भने आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको समेत उहाँले बताउनुभयो । उक्त औषधि उपलब्ध नहुँदा अहिले बिरामीले पोसाकोनाजोल नामक वैकल्पिक औषधि प्रयोग गरिरहेका छन् ।
एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ । औषधि महंगो हुने भएकाले समेत नेपालले खरिद प्रक्रिया अघि बढाउन सकेको छैन भने विकल्पमा पोसाकोनाजोल औषधिलाई प्रयोग गरिरहेको छ । नेपाल प्रेस