१५ असार, काठमाण्डौँ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवास चाक्सिवारीमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।
छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उहाँहरुको तयारी छ ।
त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गर्ने नेता त्रयको रणनीति छ । महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताउनुभयो ।
तीन नेताको भेटघाटले देशभरका कार्यकर्ता माझ देखिएको उत्साहलाई ध्यान दिँदै आफूहरु अगाडि बढ्ने सिंहको भनाइ छ ।