१५ असार, काठमाण्डौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई बैठकमा उपस्थित हुन जानकारी गराईएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’
बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।
शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको थियो ।