११ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पहिल्यै एउटै दलमा रहने सहमती सहितको खाका तयार भईसकेको खुलासा भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा अध्यक्ष प्रचण्ड र नेता नेपाल एकजुट हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उहाँहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गर्नुभएको थियो । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष हुनुभएको थियो ।
सर्वाेच्च अदालतको २३ फाल्गुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा पुगेका थिए । तर, दुवैको नेताको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा सामेल हुनुहुन्छ । उहाँहरु प्रधानमन्त्री ओलीविरुद्ध सक्रिय हुनुहुन्छ ।
प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जस अनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्छ । प्रचण्डको पनि यसमा भित्री भूमिका रहेको बुझिएको छ ।
जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव बिजयी भईसक्नुभएको छ । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा हुनुहुन्छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने देखेर नयाँ दल खोलेर बढ्ने रणनीति बनाउनुभएको हो । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।
नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसक्नुभएको छ । बरु एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढ्नुभएको छ । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने आँकलन पनि गरिएको छ । नेपालसँग एमालेभित्र मजबुत संगठन गर्न सक्ने खुबी भएका नेताहरु छन् । प्रचण्डसँग भिड्न सक्ने कार्यकर्ता छन् । दुवैले एक भएर शक्तिशाली बन्ने लक्ष्य लिएको देखिदैछ । रिपोर्टस नेपाल