५ असार, काठमाण्डौँ । ‘स्मार्ट’ शब्द पछिल्लो समय सूचना–प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना–प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ?
सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अथ्र्याउँनुहुन्छ ।
भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट गर्ने तरिका नै स्मार्ट सिस्टम भएको उहाँले भन्नुभयो । स्मार्ट सिस्टममा सकेसम्म धेरै काम मानिसको भौतिक उपस्थितिबिना अनलाइनबाट गर्न सकिने प्रवन्ध गरिन्छ ।
आधुनिक प्रविधि प्रयोग नभएका सरकारी निकायहरूमा थोरै कर्मचारी उपस्थित गराएर सञ्चालन गरिने पुष्करको भनाइ छ । अब सुरु हुने स्मार्ट लकडाउनमा सबै क्षेत्रका काम सुचारु हुने उहाँ बताउँनुहुन्छ ।
‘स्मार्ट लकडाउनमा इ–कमर्सबाट हुने कामलाई पनि प्राथमिकमा राखिन्छ । कुन काम कुन समयमा गर्ने भनेर सरकारले वा जिल्ला प्रशासन कार्यालयले तोकेको हुन्छ । उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्ने समय तोकिन्छ । त्यहाँ कोरोनाभाइरस रोकथामको लागि स्वास्थ्यको मापदण्ड कडाइका साथ लागू हुने छ,’ उहाँले भन्नुभयो ।
स्मार्ट लकडाउनमा कोरोना बिरामीको उपचार पनि स्मार्ट तरिकाले हुने सरकारको दाबी छ । कोही बिरामीलाई समस्या परेको खण्डमा तत्कालै समस्या समाधानको लागि अनलाइनबाट सम्भव भएसम्म सेवाहरु तत्कालै दिइने पुष्करले बताउनुभयो ।
सरकारले कोरोना संक्रमण कम हुँदै गएका बेला आर्थिक क्षेत्रलाई चलाएमान बनाउनका लागि स्मार्ट लकडाउनको अवधारणा अगाडि सारेको हो । निजी क्षेत्रले पनि कोरोना विरुद्धको खोप लगाएर बजारलाई खुलाउनुपर्ने माग गरिरहेको छ । स्मार्ट लकडाउनमा फेरि संक्रमण फैलन नदिने गरी आर्थिक र सामाजिक क्षेत्र खुला गर्ने अवधारणाअनुसार परिस्थितिअनुसार निर्णय गर्दै जाने पुष्करले बताउनुभयो ।