३० जेष्ठ, विराटनगर । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गर्नुभएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर थप शर्तहरु तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ ।
तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उहाँको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई नै साथ दिने पनि उहाँले खुलासा गर्नुभयो ।
भट्टराईले नेता नेपालको तन एमालेमा भएपनि मन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ रहेको पनि टिप्पणी गर्नुभयो । उहाँले माधव नेपाल विपक्षी गठबन्धनमा रहेकोले उक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनसक्ने पनि आफूहरुले आँकलन गरेको सुनाउनुभयो ।