आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि ओली छलफलमा (मन्त्री बन्ने सम्भावित नाम)

आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि ओली छलफलमा (मन्त्री बन्ने सम्भावित नाम)


२३ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल सुरु गर्नुभएको छ । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थाल्नुभएको हो ।

शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् ।

खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोतको भनाई छ । एमाले स्रोतका अनुसार खाली रहेका मन्त्रालयमध्ये रक्षा प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आजै सपथ ग्रहण गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दाे पात्रको खोजी गर्नुभएको छ । यसक्रममा महेश बस्नेत र खगराज अधिकारीको नाम चर्चामा छ । बस्नेतले पार्टीलाई सफल बनाउनका लागि आफूले. गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गर्नुभएको छ । गृहमा कर्ण थापाले पनि दाबी गरेको बुझिएको छ ।

उता एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बन्नुभएको हो । त्यसैगरी पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । दैलेख घर भएकी पार्वती बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा उपस्थिति थिइन् । माधव नेपाल समूह छाडेर उनी ओली समूहमा लागेकी थिइन् ।

यता पूर्वबाट विशाल भट्टराई (खोटाङ) र राजेन्द्र राई (धनकुटा)को नाम चर्चामा छ । गण्डकीबाट विद्या भट्टराईको नाम पनि चर्चामा छ ।

यस्तै प्रधानमन्त्री ओलीले पूर्वमाओवादीलाई पनि समेट्ने तयारी गर्नुभएको छ । राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारीमा प्रधानमन्त्री ओली लाग्नुभएको छ ।

त्यस्तै सुदूर पश्चिम प्रदेश सरकारको राज्यमन्त्रीबाट निकालिएका अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट निकालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।

प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद विस्तार गर्ने हो भने ७ जना मन्त्रीहरु थप्दा मन्त्रिपरिषदको कुल संख्या २४ पुग्छ । यो अवस्थामा थप एकजना राज्यमन्त्री बनाउन मिल्छ । संविधानले २५ जनाभन्दा बढीको मन्त्रिपरिषद बनाउन दिँदैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर