जसपा फुटको संघारमा, एक–अर्काको स्पष्टीकरणको म्याद आज सकिँदै

जसपा फुटको संघारमा, एक–अर्काको स्पष्टीकरणको म्याद आज सकिँदै

१६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी भित्रका दुवै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ ।

यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेष्ठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि हिजो फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ठाकुरले पठाएको पत्रमा भनिएको छ, तपाईलाई सफाइको मौका दिन तपाईलाई कारवाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकामा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ ।’

यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी अध्यक्ष ठाकुरले यादवलाई दिनुभएको छ ।

यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । त्यसपछि उनीहरुमाथि कारवाही हुने जसपा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बताउनुभयो । अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको अधिकारीले बताउनुभयो ।

हिजो शनिबार दुवै पक्षले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको आज २४ घण्टा पुग्ने भएकाले एकले अर्कालाई कारवाही गर्ने सम्भावना देखिएको छ । त्यसपछि पार्टीको आधिकारिकताका लागि दाबी सुरु हुनेछ र निर्वाचन आयोगमा एक अर्काले आधिकारिकताका लागि लागि दाबी प्रस्तुत गर्नेछन् ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार कार्यसमितिमा जसको बहुमत हुन्छ, त्यसले आधिकारिकता पाउनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर