७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्थामा आफ्नै नेतृत्वमा सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार बनाउन आफूले मार्ग प्रशस्त गरिदिएको उल्लेख गर्नुहुँदै आफूले छलेर सरकार कब्जा गर्न नखोजेको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले अर्काे सरकार बनाउन आफूले बाटो खोलिदिएको भन्नुहुँदै यसलाई बाहिरा कृत्रिम नाटकीय व्याख्या भएको टिप्पणी गर्नुभयो । उहाँले आफूले संसद्मा गएर विश्वासको मत पाउने अवस्था नदेखिएपछि नयाँ प्रक्रियाको लागि सिफारिस गरेको बताउनुभयो ।
उहाँले दलहरूलाई वैकल्पिक सरकार निर्माण गर्न वा आफूलाई नै विश्वासको मत दिन आग्रह समेत गर्नुभयो । जेष्ठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता अनुसार अहिले नै वैकल्पिक सरकार बनाउन समय दिए सरकारका नीति तथा कार्यक्रम ल्याउन सजिलो हुने र बजेट तयार गर्न समय हुने भएकाले आफूले मार्ग प्रशस्त गरेको प्रष्ट पार्नुभयो ।
उहाँले वैकल्पिक सरकार पनि बनाउन नसक्ने, विश्वासको मत पनि दिन नसक्ने भएपछि संविधानतः मुलुक चुनावमा जाने तर त्यसको दोष भने आफूलाई दिन नमिल्ने प्रष्ट पार्नुभयो ।
उहाँले राष्ट्रपति संस्था गणतन्त्रको प्रतीक भएकाले विवादमा नल्याउन समेत आग्रह गर्नुभयो । उहाँले कोरोनाको महामारीमा भारतसँग खोपका लागि २० लाख डोजको पैसा दिएको तर १० लाख डोज ल्याउन बाँकी रहे पनि त्यो खोप ल्याउन प्रयास गरिरहेको जानकारी दिनुभयो ।