
७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि विपक्षी दलहरु आपत्कालिन छलफलमा जुटेका छन् । काँग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरेको छ ।
काँग्रेसको बैठक सकिएलगत्तै पार्टीको छुट्टै र काँग्रेससँग संयुक्त छलफल गर्ने तयारी माओवादीले गरेको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा अर्को सरकार गठनका लागि २१ घण्टाको समय दिनुभएको छ ।
प्रधानमन्त्रीको मिलेमतोमा संविधानमाथि फेरि अर्काे प्रहार भएकाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन अधिकतम प्रयास गर्ने विपक्षी दलहरूको भनाइ छ ।
यता नेकपा एमालेकै माधव नेपाल पक्ष पनि आन्तरिक परामर्शमा जुटेको छ । यसअघिको प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम, अध्यादेश लगायतलाई असंवैधानिक भन्दै विरोध गरेको माधव नेपाल पक्ष अहिले प्रधानमन्त्रीले अर्काे त्यस्तै कदम चाल्दा मौन बसेको त होइन भन्ने प्रश्न उब्जिएका बेला सो पक्ष पनि आन्तरिक परामर्शमा जुटेको हो ।
वैधानिक हिसावले माधव नेपाल पक्षले फ्रन्टमा बोलेर अहिलेको संकटमोचन नहुने भएकाले नेताहरु मौन बसेको माधव नेपालनिकट एक नेताको भनाइ छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७