६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेष्ठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ । उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रवार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।
प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ ।
फेरि पनि विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । जुन प्रयास यसअघिनै असफल भईसकेको छ ।
यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा चुनावमा जानुपर्ने हुन्छ ।