४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल अलमलमा परेको छ । औपचारिक बैठक नै बस्न नसक्दा कार्यदल अलमलमा परेको हो । यद्यपि नेताहरुले औपचारिक बैठक नबसे पनि आन्तरिक परामर्श र गृहकार्य भइरहेका बताएका छन् ।
गत आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलबाट दुवैतर्फका पाँच/पाँचजना गरी १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि दुई दिनसम्म औपचारिक बैठक नै बस्न सकेको छैन ।
आज कार्यदलको औपचारिक बैठक बस्ने/नबस्ने अझै निश्चित छैन । माधव नेपाल समुहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार बैठक बस्ने नबस्ने बारे खबर छैन । पाण्डेले बैठकबारे आफुलाई केही जानकारी नभएको बताउनुभयो ।
उहाँले केही सदस्य काठमाडौं बाहिर भएकाले पहिलो दिनको कार्यदल बस्दा सबैजना बसौं भन्ने भएर केही ढिला भएको हुन सक्ने बताउनुभयो । कार्यदल सदस्यहरुले सोमबारबाटै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक परामर्श भने भइरहेको बताउनुभएको छ ।
‘आज मंगलबार बसौं भन्ने कुरा त भएको हो, तर नेताहरुको पनि समय म्यानेज गर्नुपर्ने भएकाले आज पनि बैठक बस्ने/नबस्ने निश्चित भैसकेको छैन’, ओली समुहका कार्यदल सहस्य सुवास नेम्वाङले भन्नुभयो, ‘शंकर पोखरेलजी दाङबाट आएपछि बसौं भन्ने कुरा छ ।’
कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङसहित नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । त्यस्तै नेता नेपालका तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।