२४ वैशाख, काठमाण्डौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोरोना विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्र्तगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।
‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्र्तगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘यसका साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ ।’ नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो ।
जवाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नो तर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको र आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।
कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।