२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाउनुभएको छ । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको बताईएको छ ।
वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । ओलीले बेलाएको बैठकमा अनौपचारिक छलफल मात्र हुने एमाले नेता सुवास नेम्वाङले बताउनुभयो ।
विहीबार बालुवाटारमै बसेको एमाले स्थायी कमिटी बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सकेको थिएन । यसअघि माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने भनेपनि विपक्षी गठबन्धनले साझा उम्मेद्धावार घोषणा गरेपछि एमाले भित्र थप छलफल सुरु भएको थियो ।
यसैबीच विपक्षी गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एमाले खनाल नेपाल समूह र जसपा) का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेको बताईएको छ ।