१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग निरन्तर सम्वाद गरिरहनुभएको छ । ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई नै साथ दिनुपर्ने पक्षमा हुनुहुन्छ । तर, अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीलाई सत्ताच्यूत गर्नुपर्ने अडान उभिनुभएको छ ।
आजको बैठकमा यादवले कार्यकारिणी समितिको बैठक राख्न माग गर्नुभएको थियो । तर, तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन नसकिने अडान ठाकुर र महतोले लिनुभएको स्रोतको भनाई छ ।
यादवले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि सबैभन्दा बढि पहल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गर्नुपर्ने बताउनुभएको छ ।