१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ ।
आज काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभयो । संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको उहाँको भनाई थियो ।
अहिलेको व्यवस्था र व्यवस्था संञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताउनुभयो । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
आफ्नो पार्टी तोडफोड गरेर अर्काे पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताउनुभयो ।