२० चैत्र, झापा । झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले आज बिहान वडा नम्वर १० मा आयोजना गरेको एक कार्यक्रमबीच अभियान सुरु गरिएको हो । जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले संयुक्त रुपमा हात्तीपाइलेको औषधि खाएर अभियान सुरु गगर्नुभएको थियो ।
समन्वय समितिका अध्यक्ष पोर्तेलले जिल्लावासीले हात्तीपाइलेको औषधि खाएर अभियान सफल बनाइदिन आग्रह गर्नुभयो । त्यस्तै‚ नगरप्रमुख श्रेष्ठले हात्तीपाइलेविरुद्धको औषधि नखाने नगरवासीको पहिचान गरी सेवा सुविधा रोक लगाउने बताउनुभयो ।
झापाका कुल नौ लाख ३३ हजार जनसंख्यामध्ये आठ लाख चार हजार ५७ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले बताउनुभयो । चैत्र मसान्तसम्म औषधि खुवाउने अभियानका लागि ६०० जना स्वास्थ्यकर्मी र सोही संख्यामा महिला स्वयंसेविका परिचालन गरिएको जानकारी दिनुभयो । क्यान्सरभन्दा घातक रोग हात्तीपाइले भएकाले सबैले औषधि खानु पर्ने उहाँले बताउनुभयो ।
झापामा आर्थिक वर्ष २०७६/७७ मा ५५४ जना हात्तीपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका तथ्यांकमा उल्लेख छ ।