राजेन्द्र महतोलाई रेशम चौधरीको जवाफः बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित हो

राजेन्द्र महतोलाई रेशम चौधरीको जवाफः बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित हो


११ चैत्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गर्नुभएको छ । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला निलम्बित सांसद चौधरीलाई भेट्न महतो आफै आज डिल्लीबजार कारागार पुग्नुभएको हो ।

एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला आज रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।

त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई प्रश्न गर्नुभएको थियो ।

जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिनुभएको थियो । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिनुभउको बताईएको छ ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।

सत्ता साझेदारीका सम्बन्धमा बाहिर के भइरहेको छ, त्यो कुरा आफूलाई थाहा नभएको र प्रधानमन्त्री तथा उनको दलसँग सहकार्य गर्ने वा नगर्नेबारे पार्टीले नै निर्णय गरोस् भन्ने आफूले चाहेको चौधरीले महतोलाई बताउनुभएको थियो ।

आफूले बोलेको भन्दै बाहिर आएको समाचारमा सत्यता नभएको र त्यसले आफ्नो चित्त दुखाएको भन्दै पार्टीको निर्णय आफूले मान्ने र पार्टी एक ढिक्का भएर अगाडि बढेको हेर्न चाहेको उहाँले बताउनुभएको स्रोतले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर