९ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट उहाँ ढाका पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले पनि स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यहाँ उहाँले वृक्षरोपण पनि गर्नुभयो । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा आइपुग्नुभएको छ ।
राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।