एमाले संसदीय दलको बैठक सम्पन्नः गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय

एमाले संसदीय दलको बैठक सम्पन्नः गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय


७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि आएनन् ।

३८ सांसदको तर्फबाट ज्ञापनपत्र बुझाउन पुगेका तीन सांसदलाई दलका नेता केपी शर्मा ओलीले व्यक्तिगत धारणा सुन्ने तर गुटको प्रस्ताव स्वीकार नगर्ने बताउनुभएको थियो ।

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता ओलीले आफ्नो निर्देशन विपरित भेला गरेको भन्दै अगुवाहरुलाई स्पष्टीकरण सोधिने बताउनुभयो । आत्मालोचना गरेर आए सोच्न सकिनेछ नभएर कारबाहीको प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरेर गुटगत भेला गरेको र झुटा लान्छनाहरु लगाएर पार्टी सरकारलाई बद्नाम गर्न खोजेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

सर्वाेच्च अदालतको आदेशपछि आफूले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको तर उहाँले रियलाइजेसन नगरेको भन्दै ओलीले भन्नुभयो, ‘गुटगत गतिविधि गरेर हामीलाई बदनाम गराउन खोजिँदैछ । अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।’

यस्तै आजको बैठकले दलको विधान २०७७ पारित गरेको छ । बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो ।

संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । उक्त विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।

कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विक, लगायत १० जना सांसदले धारणा राख्नुभएको थियो ।

विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ ।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर